मदन भण्डारीसँगै दुर्घटनामा परेर ज्यान गुमाएका एमाले नेता जीवराज आश्रितका छोरा विशेषज्ञ डाक्टर -

एमालेका कुशल संगठक एवं जननेता मदन भण्डारीका दाहिने हातका रुपमा चिनिन्थे-स्व. जीवराज आश्रित। २०५० साल जेठ ३ गते दासढुंगामा एमालेका यी दुवै नेताको रहस्यमय ढंगले हत्या भयो। मदनसँगै गुल्मीका जीवराजको रहस्यमय निधन हुँदा छोरा सागर ११ वर्षका मात्र थिए । यसबीच झण्डैं २३ वर्ष बितिसकेको छ । उनका बुवाले मलजल गरेको एमाले पार्टीका सांगठनिक हागाविगाहरु यति मजबुत बनेका छन्, जति नेपालका अरु कुनै पनि राजनीतिक पार्टी संगठनका छैनन्।


मदनले रोपेको विचार र जीवराजले निर्माण गरेको संगठनको जगमा नेकपा एमाले २०५० सालपछि धेरै पटक सत्तामा मात्रै पुगेन्, मुलुकको पहिलो र दोस्रो पार्टी बनिसकेको छ । तर, २३ वर्षको यो अवधिमा एमालेभित्र झण्डै गुमनाम भूमिकामा छ-जीवराज परिवार । अझ आश्रित पत्नी मायाका ज्ञवालीका बारेमा धेरेथोर चर्चा भएपनि उनका छोराछोरीको कहिल्यै बाहिरी दुनियाँमा चर्चा भएन।


यो २३ वर्षको अवधिमा जीवराजका चिनोका रुपमा रहेका उनका एक छोरा र एक छोरी के गरिरहेका थिए होलान्? हामी आफ्नै व्यवहारिक जीवनमा थियौं, चीनबाट विशेषज्ञ डाक्टर बनेर फर्किएका जीवराजका एकमात्र छोरा सागरले हालैको एक साँझ नेपालीपत्रसँगको कुराकानीमा भने, दिदीको पनि विवाह भयो । उहाँ अहिले जागिर गर्दै हुनुहुन्छ। बुवाको राजनीतिक जीवनको कुनै ब्याज नखोजेको यो परिवारको एमाले राजनीतिमा आफ्नै सक्रियता र लगानी छ।

त्यसैले त माया ज्ञवाली राष्ट्रिय परिषद् र केन्द्रीय सल्लाहकार विभाग सदस्यका रुपमा क्रियाशील छन् भने सागर नेपाल वुद्धिजीवि परिषदमा संगठित छन् । उनकी दिदी पनि एमाले पार्टीमै क्रियाशील छिन् । त्यो भन्दा पनि बढी एमालेमा आफ्नो भावनात्मक लगानी रहेको ठान्छन्, सागर । भन्छन्, एमालेमा हाम्रो सक्रियता त छदैंछ त्यो भन्दा बढी भावनात्मक लगानी छ जस्तो लाग्छ । उपयुक्त अवसर आएमा वुवाले अगाडि बढाएको पार्टीमा केही योगदान गर्ने रहर छ। सक्रिय राजनीति लाग्ने सोच बनाइनसकेको उनले बताए । देश र पार्टीलाई वौद्धिक कन्ट्रीब्युसन गर्नुपर्छ भनेर सोचिरहेको छु, उनी भन्छन्, आस्था जहिले पनि एमालेसँगै छ । देशलाई केही दिनुपर्छ, त्यो दिने माध्यम भनेको पार्टी हो।


बुढानिलकण्ठदेखि विशेषज्ञ डाक्टरसम्म


कक्षा ७ सम्म सिद्धार्थ बनस्थलीमा पढेपछि छात्रवृति नाम निकालेपछि सागरको माध्यमिक तहको थप पढाइ बुढानिलकण्ठबाट भयो । त्यो बेला राजपरिवारका सदस्यहरु पढ्ने स्कुल भएकाले बुढानिलकण्ठको छुट्टै शान थियो । प्रतिस्पर्धा मन पराउने भएकाले सागरका लागि पनि बुढानिलकण्ठ राम्रो गर्ने अवसर थियो ।

’बुढानिलकण्ठ अझ विशेष थियो,’ उनले भने, ’कम्पिटीसन पनि राम्रै थियो । हन्र्डेड स्टुडेन्टमा टप ट्वान्टी फाइभमा म पनि अटाउँथे ।’ परिणाम नै मान्नुपर्छ, वि.सं. २०५६ सालमा बुढानिलकण्ठबाट उनले ७८ प्रतिशत ल्याएर एसएलसी उत्तीर्ण गरे। त्यहीबाट वि.सं. २०५८ सालमा बायोलोजी लिएर प्लस टु गरे । झण्डै ५ वर्ष बुढानिकलण्ठमा बिताएपछि थप उच्च शिक्षाका लागि उनले नयाँ अवसरहरु खोज्न थाले। यही क्रममा चीनले उपलब्ध गराउने एमबीबीएस छात्रवृतिका लागि दूतावासले लिने परीक्षा सहभागी भए । उक्त परीक्षाबाट छानिएपछि सागरले चीनको सन यात्-सेन युनिभर्सिटीमा एमबीबीस पढ्ने मौका पाए । यो चीनमा कहलिएको विश्वविद्यालय हो।


’त्यो विश्वविद्यालयमा त्यतिबेला छात्रवृति पाउने म एक्लो नेपाली विद्यार्थी थिए,’ उनले भने, ’त्यतिबेला विभिन्न विश्वविद्यालयमा नेपालका विद्यार्थीहरुका लागि चीनले छात्रवृति दिइरहेको थियो । म सन यात्सेन युनिभर्सिटीका लागि छानिए ।’ गुन्जाओस्थित सन् यात्सेन विश्वविद्यालयको स्कुल अफ मेडिसिन नेपालको आइओएम जतिकै लोकप्रिय र प्रतिष्ठित रहेको उनको भनाइ छ । चीनको नामी सन यात्-सेन युनिभर्सिटीको स्कुल अफ मेडिसिनबाट मैले पढ्ने अवसर पाए, उनले सुनाए, स्न यात्-सेनलाई चीनमा राष्ट्रपिताजस्तै सम्मान गरिन्छ । त्यसैले यो विश्वविद्यालय पनि विशेष मानिन्छ।


सागरले सन् यात्-त्सेन युनिभर्सिटीको स्कुल अफ मेडिसिनबाट सन् २००८ मा क्लिनिकल मेडिसिनमा एमबीबीएस पास गरे । एमबीबीएस सकिए लगतै उनले सोही विश्वविद्यालयमा एमडी गर्ने छात्रवृति पाए। सन् २०११ मा उनले सोही विश्वविद्यालयबाट एमडी गरेका हुन् । उनको अनुसन्धानको शीर्षक भने आन्द्राको क्यान्सरमाथि थियो । त्यसपछिका झण्डै चार वर्ष उनले पीएचडी अर्थात विशेषज्ञता हासिल गर्नमा बिताए। ’त्यो पनि छात्रवृतिमै मै हो,’ उनले भने । संसारभरका ५० जना विद्यार्थीलाई दिइने छात्रवृतिमै उनले एमबीबीएसदेखि पीएचडीसम्मको अध्ययन पूरा गरेका हुन् । सन् २०१५ को डिसेम्बरमा सागरले विशेषज्ञ डाक्टर सक्काए । उनले ‘ग्यास्ट्रिक क्यान्सर’मा पीएचडी हासिल गरेका हुन्।


१४ वर्ष चीनमा बिताएर फर्केका सागर अब स्वदेशमा आफूले आर्जन गरेको सीप र दक्षता प्रयोग गर्ने बताउँछन् । भन्छन्, ’अब एनएमसीको लाइसेन्स परीक्षा दिन्छु र आफूले हासिल गरेको विशेषज्ञता नेपालीका लागि खर्चन्छु ।’ उनी अहिले त्यसैको तयारीमा ब्यस्त छन् । यसबाहेक चिनियाँ संस्कृति र भाषामाथि आफ्नो लगाव रहेको बताउने सागर चिनियाँ भाषाका विज्ञ समेत हुन् । उनले चिनियाँ भाषा इन्टरपेटरका रुपमा पनि काम गरिरहेका छन् । ‘सन् २००७ को जनवरीदेखि चीनमा रहँदा मैले विभिन्न ठाउँमा चिनियाँ भाषाको इन्टरपेटरको काम पनि गरेको छु,’ उनले भने, ’लामो बसाइँका क्रममा चिनियाँ भाषा र संस्कृतिप्रेमी बने ।’ उनले आफू सानै छँदा आफ्ना वुवाले दुई पटक चीन भ्रमण गरेको कुराले पनि आफूलाई भावनात्मक रुपमा चीनको हितैषी बनाएको बताए।



अध्यारो त्यो साँझ :


डल्लुको डेराको त्यो साँझ । सागरको जीवनमा मात्र होइन्, राष्ट्रकै जीवनकै अप्रिय साँझ थियो । मुलुकले दुई होनहार नेता गुमाएको थियो । सागरले भने कलिलै उमेरमा आफ्ना बुवा । ’आइतबारको दिन थियो, हामी डल्लुमा बस्थ्यौं । म कानको उपचार गरेर भर्खरै फर्किएको थिए, उनले त्यो अकल्पनीय क्षणको सम्झे, ’साढे ७ देखि ८ बजेको हुँदो हो । मैले गाडी दुर्घटनाको समाचार सुने । केही बेरपछि नै जितेन्द्र देवले उनको घर पुगेर खबर सुनाए।

५ कक्षामा पढिरहेको बालकको उज्यालो आकाशमा छिनभरमै ग्रहण लाग्यो । आफन्त, पार्टी कार्यकर्ता, नेता र समर्थक, शुभचिन्तक सान्त्वना दिनेहरुको भिड लाग्यो । सोमनाथ प्यासी, प्रदीप नेपालकी श्रीमतीदेखिका मानिसहरु जम्मा भए शोकमा डुबेको परिवारलाई सान्त्वना दिन । त्यसपछिका दिनहरु उति सहज रहेनन्, सागरको परिवारका लागि। घटनाका भेटिएका प्रमाण र लाश भेटिएको अवस्थाको विवरणका आधारमा सागरलाई उक्त घटना सुनियोजित रुपमा बुनिएको षड्यन्त्र मान्छन् । घटनाको अवस्था र उपलब्ध प्रमाणहरुका आधारमा केही विदेशी शक्तिको सुनियोजित षड्यन्त्रको आभाष हुन्छ । मदन भण्डारीको चुलिएको लोकप्रियताबाट डराएकाहरु यो घटना गराएका हुन सक्छन्, उनी भन्छन्।


घटनापूर्व अमर लामाले गोराहरुलाई भेटेको, उहाँहरुलाई अचेत बनाइएकोजस्ता कुराहरुले सुइको नै नपाउने गरी षड्यन्त्र गरिएकोजस्तो लाग्छ उनलाई । ‘विभिन्न आयोगहरु बने, तिनले पनि षड्यन्त्र गरेर हत्या गरिएको प्रतिवेदन दिए । तर, समयमा घटनाको वैज्ञानिक तवरबाट पुष्टि गर्न चुकेको देखिन्छ,’ सागर मान्छन्, ‘क्रंक्रिट कुरामा ध्यान दिन चुक्यौ । जनमानसमा धेरै कुरा भयो । तर, बाहिर पठाएर भएपनि वैज्ञानिक रुपमा प्रमाणहरुमाथि छानविन गरिनुपथ्र्यो ।’ एक्लो जीवित प्रमाणका रुपमा रहेका अमर लामालाई मारिएपछि त उनलाई झन घटना षड्यन्त्र नै थियो भन्ने लाग्छ।

कडा र अनुशासित बुवा


एउटा भूमिगत कम्युनिष्ट नेताको पारिवारिक जीवनका आरोह अवरोहका साक्षी हुन्—सागर । बुुवा जीवनराज आश्रितको भूमिगत राजनीतिको प्रभाव उनले बाल्यकालमै अनुभव गर्न पाए । ‘भूमिगत राजनीतिकै कारण म स्याङजा, कास्की, रुपन्देही र काठमाडौंका स्कुलहरुमा पढे,’ ३३ वर्षीय सागरले विगतको स्मृति गर्दै भने, ‘बुवाले आफ्नो भूमिगत जीवनका बीच पनि परिवारिक दायित्व भने निभाइरहनु भएको थियो।


पिताको राजनीतिक जीवनका कारण घुम्ते जीवन बिताए सागरले । २०४६ सालको जनआन्दोलनपछि भने उनको पिताको राजनीतिक जीवन खुल्ला भयो । यो सँगै सागरको पढाइ पनि नियमित बन्न पुग्यो । उनले कन्चनजंघा बोर्डिङ स्कुलमा पढे । थोरै विद्यार्थी भएका कारण त्यहाँ उति प्रतिस्पर्धा नहुने देखेपछि अर्काे वर्षदेखि उनी वनस्थली स्कुलमा भर्ना । कन्चनजंघाको तुलनामा वनस्थलीमा प्रतिस्पर्धा हुन्थ्यो, उनले सुनाए, ‘विद्यार्थीहरु पनि अलि धेरै थिए । कम्पीटिसनमा मलाई छुट्टै रमाइलो लाग्थ्यो।

तीक्ष्ण स्वभावका सागरको बाल्यकालको सपना वकिल बन्ने थियो । मलाई हिन्दी फिल्ममा वकिलले बहस गरेको देखेर वकिल बन्ने रहर थियो,’ उनले आफ्नो बालसुलभ सपना सुनाए, ’सबै कुरामा म जित्नैपर्ने स्वभावको थिए।’ जीवराज सांगठनिक कामका कारण पूर्ण समय परिवारको ध्यान दिन सकेनन् । विभिन्न ठाउँमा पढाउँदैं र जागिर गर्दै मायाले नै उनलाई हुर्काउने काम गरिन् । ’वुवा राजनीतिक कारण कहिल्यै हाम्रो हेरचाह गर्न पाउनुभएन्, सबै काम आमाले नै गर्नुहुन्थ्यो,’ बाल्यकालको डायरी पल्टाउँदैं सागरले भने, ’बुवा एकदमैं कडा स्वभावको देखिनुहुन्थ्यो । तर, उहाँले सधैं पारिवारिक रुपमा अभिभावकत्व निभाउनुभयो।’


बवासँगको छोटो सामीप्यताबाट के सिके त उनले ? भन्छन्, ’अनुशासित हुन, समयपालक बन्न, निष्ठापूर्वक बाँच्न, इमान्दार बन्न सिके,’ उनले सुनाए, ’अनुशासन नै इम्प्रेशन हो भन्ने मान्यता राख्नुहुन्थ्यो । झुटो बोल्नु र गल्ती गर्नु हुँदैंन भन्ने मान्यता थियो । स्वाभिमानी र अरुको एक पैसा पनि नलिने उहाँको बानी मेरा लागि सदैव प्रेरणादायी छ।’ ’कसरी सम्झनुहुन्छ?’ हामीले अर्को प्रश्न थप्यौं । प्रश्नको जवाफ दिदा उनी केही बेर रोकिए । अनि बोले, ’उहाँ स्वभावको कडा देखिनुहुन्थ्यो । म सधैं वुवा कडा हुनुहुन्छ भन्ने ठान्थे । तर, उहाँ नरम पनि हुनुहुँदोरहेछ। एकदिन बसमा सँगै यात्रा गर्दा मैले वुवाको नरमपनाबारे थाहा पाए । उहाँले गरेको केयरिङबाट मैले त्यो कुरा थाहा पाएँ।’

अहिले उनलाई लाग्छ, बुवा भएको भए हाम्रो पनि अहिले फरक सम्बन्ध हुन्थ्यो होला । ’समय एक क्रमपछि वुवाछोराको सम्बन्ध साथीकोजस्तो बन्छ । मैले बुवाको साथी भएको अनुभूति गर्न पाइँन्,’ उनी केही भावुक देखिए, ’अहिले बुवा हुनुभएको भए अर्कै सम्बन्ध हुन्थ्यो होला । २०४९ सालमा बाल्यकालमै उनले बागबजारस्थित पार्टी कार्यलयमा मदन भण्डारीलाई भेटेका थिए । ’पार्टी कार्यलयमा एक पटक मदन भण्डारीलाई भेट्ने अवसर पनि मिल्यो,’ उनले मदनसँगको भेटबारे भने, ’धेरै छोटो सम्झना छ, शालिन व्यक्तित्व हुनुहुन्थ्यो।


वकिल बन्ने सपना भएपनि सागर अन्ततः विशेषज्ञ डाक्टर बने । वि.सं. २०५० कै त्यो राजनीतिक घटनाका कारण आफ्नो सपना फेरिएको हुन सक्ने ठान्छन्, उनी । बुवाको सपना पनि डाक्टर बनोस भन्ने थियो,’ उनले सुनाए, ‘सायद त्यो घटनापछि मेरो सपना फेरियो।


राष्ट्रपतिसँग पारिवारिक नाता


सागरले मदनपत्नी राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारसँग आफूहरुको पारिवारिक सम्बन्ध रहेको बताए । विद्याआन्टी राष्ट्रपति भएकोमा गर्व लाग्छ, उनले भने, उहाँहरुसँग हाम्रो पारिवारिक र फरक प्रकारको नाता छ । सँगै ज्यान गुमाएका सहयोद्धा भएका कारण पनि दुई परिवारबीच भावनात्मक सम्बन्ध रहेको उनको भनाइ थियो । डेढ महिना पहिले राष्ट्रपति भवन गएर सपरिवारै बधाई दिएको सागरले बताए । उहाँ राष्ट्रपति भएपछि हामी परिवारै गएर बधाई दियौं । उतै खाना खायौं, उनले सुनाए, पहिले पनि भेटघाट भइरहन्छ, अहिले पनि भेटघाट भइरहन्छ। उक्त भेटघाटका क्रममा राष्ट्रपतिसँग पारिवारिक र ब्यवहारिक कुरा भएका थिए । राष्ट्रपतिले सागरको करिअरका विषयमा पनि चासो ब्यक्त गरेकी थिइन । ’के गर्दैछौं भनेर सोध्नुभयो,’ उनले भने, ’पढाइ सके अब जागिरका लागि हेर्दैछु भन्ने जवाफ दिए ।


एमालेलाई हेर्दा :

एमालेले जीवराजको परिवारलाई उपेक्षा गरेको हो भनेर हामी सोधेको प्रश्नलाई सागरले अस्वीकार गरिदिए । उनले एमालेमा आफूहरुको सक्रियता रहेको बताउँदैं आगामी दिनमा पार्टीले सक्रियताको कदर गर्ने विश्वास व्यक्त गरे। आमाले पनि अब राजनीतिमा बढी सक्रिय हुनुपर्छ, उनले भने, पार्टीभित्र वुवाको योगदानको सधैं चर्चा नै हुन्छ । उनले अहिले पनि आमा पार्टीका कार्यक्रममा सक्रिय रहेको बताउँदैं त्यसको पार्टीले पनि मुल्यांकन गर्ने विषयमा आफूलाई कुनै शंका नरहेको बताए।

एमालेको राजनीतिक भूमिका, दिशा र नेताहरुको जीवनशैली बारेमा सोधिएको प्रश्नमा पनि सागर औपचारिक बन्ने प्रयास गरे । उनले सिद्धान्त परिवर्तन नभएपनि पार्टीले बदलिएको परिस्थितीलाई हेरेर आफ्नो राजनीतिक कार्यदिशा परिवर्तन गरेको बताए । कम्युनिष्ट नेताहरु सर्वहारा नेताजस्ता नदेखिए पनि उनीहरु पार्टी सिद्धान्त र विचारप्रति प्रतिवद्ध रहेको उनको बुझाइ थियो। (नेपालीपत्र डटकम बाट )
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment