के गर्दैछन् व्यापारी अपहरणका नाइके श्यामसुन्दर गुप्ता ?

 काठमाडौं, १२ भदौ । विवादास्पद छविका पूर्वमन्त्री श्यामसुन्दर गुप्ता हिजोआज के गर्दै होलान् भन्ने चर्चा र चासो बढेको छ । प्रहरीले लागूऔषध तस्करीको आरोपमा चर्चित व्यवसायी पवनकुमार संघाईलाई पक्राउ पुर्जी जारी गरेपछि पूर्वमन्त्रीसमेत रहेका गुप्ताको चर्चा एक्कासि बढेको हो ।

उनी तराईको भन्सार क्षेत्रमा ‘छब्बा’ नामले चिनिन्छन् । नेपाल सद्भावना पार्टीको अध्यक्ष रहँदै गर्दा उनी आपूर्तिमन्त्रीसमेत थिए । त्यतिबेलै उनी व्यापारी अपहरण काण्डमा मुछिए । गुप्ताले व्यापारी पवनकुमार संघाईलाई अपहरण गरी २० दिनसम्म काभ्रेमा बेपत्ता पारी ८५ लाख रुपैयाँ फिरौती लिएर छाडेका थिए । छोराको बिहे खर्च जुटाउन भन्दै उनले अपहरण गरेको अभियोग लागेको थियो ।

काठमाडौं जिल्ला अदालतले गुप्तालाई तीन वर्ष ६ महिना जेल सजाय तोकेको थियो । व्यापारी संघाईको अपहरणमा गुप्ताको मुख्य योजना रहेको प्रहरी अनुसन्धानमा खुलेको थियो । दुई वर्षअघि केन्द्रीय कारागारबाट तीन वर्ष ६ महिना जेल सजाय भोगेर बाहिरिएका उनी नेपाल सद्भावना पार्टी (युनाइटेड) का अध्यक्ष हुन् ।

केन्द्रीय कारागारबाट बाहिरिँदा उनलाई उनी समर्थक कार्यकर्ताले स्वागत गरेका थिए । मधेसी मोर्चाका केही नेताले आफूलाई फसाए पनि सक्रिय राजनीति नछाड्ने बताएका उनी जेलबाट निस्केदेखि भूमिगत छन् । उनीबारे कहीँकतै चर्चा हुन्न । गुप्ताको पार्टी नेपाल सद्भावना पार्टी (युनाइटेड) पनि त्यति क्रियाशील देखिन्न । सद्भावना पार्टी अध्यक्ष आनन्दीदेवीलाई समेत अपहरणको आरोप लागेका गुप्ता आखिर अहिले कहाँ र के गर्दैछन् भन्ने कौतूहल सर्वत्र छ ।

फिल्मी शैलीभन्दा भिन्न थिएन गुप्ताको आपराधिक जीवनशैली
गुप्ताको आपराधिक जीवनशैली पर्दामा देखिने फिल्मभन्दा भिन्न छैन । पञ्चायतकालदेखि नै अपराध गर्ने र उन्मुक्ति पाउँदै आएका गुप्ताले सद्भावना पार्टी विवादका बेला अनिल झालाई अपहरण गरेका थिए । तर, तत्कालीन सरकारको आशीर्वादले मुक्ति पाए । विभिन्न अपराधकाण्डबाट सात खुन माफी पाउँदै आएका गुप्ता व्यापारी संघाईको अपहरण काण्डको अभियोगमा डिल्लीबजार कारागारमा साढे तीन वर्ष सजाय भोगेर निस्केका हुन् ।

भूमिगत जीवनशैलीमा रहेका गुप्ता बेलाबेलामा प्रदर्शनी मार्गको चौरमा केही कार्यकर्तासँग भेटिन्छन् । तर, उनी त्यहाँ त्यति धेरै समय बस्दैनन्, छिट्टै घर फर्किन्छन् । उनका सहयोगीका अनुसार आजकाल गुप्ता राजनीतिभन्दा पूरै टाढा बस्न मन पराउँछन् ।

के मात्रै गरेनन् गुप्ताले

जेलमा रहँदासमेत उनी चर्चामा आए । चिकित्सक छोरालाई प्रयोग गरी उनले प्रहरीलाई नसालु पदार्थ खुवाएर लठ्याई भाग्ने प्रपञ्च गरेका थिए । तर, सफल भएनन् । उनी थप अपराधको मुद्दा भोग्न बाध्य भए । २०६८ पुस २७ गते व्यापारी संघाईलाई अपहरण गरी परिवारबाट ८५ लाख फिरौती लिएका थिए । त्यतिबेला अपहरणमा परेका संघाई भने यतिबेला प्रहरीबाट फरार अपराधीको सूचीमा छन् । संघाईलाई अपहरण गरेपछि फिरौतीको मध्यस्थताका लागि संघाई परिवारको तर्फबाट विनोदकुमार अग्रवाल, सुशील नाहटा, प्रदीप गोयल सक्रिय रहेको बताइन्छ ।

व्यापारी अपहरण बुझेको रकममध्ये ३१ लाख गुप्ताले फर्काए भने छोराको बिहेका लागि न्युरोडस्थित जयमाता सुनचाँदी पसलबाट १७ लाख ३० हजारका विभिन्न गर–गहना किने । पाँचजना अपहरणकारीलाई सुरुमा ३० लाख दिने कबोल गरे पनि फिरौती बुझेपछि गुप्ताले २० लाखमै टारे । त्यसले गर्दा अपहरणकाण्ड बाहिर आएको थियो ।

अपहरणपछि पनि गुप्ताले फिल्मी शैलीको कथा रचेका थिए । पूर्व सम्झौताबमोजिमको एक करोड नदिएपछि उनले संघाईलाई २० दिनसम्म कब्जामा राखेका थिए । गुप्ताको अपहरण शैली र असुली शैली पनि फिल्मी स्टाइलकै थियो । केही दिनअघि लागूऔषध नियन्त्रण ब्यूरोले लागुऔषध तस्करीको आरोपमा संघाई फरार रहेको बताइरहँदा पत्रकार सम्मेलनमा उपस्थित केही सञ्चारकर्मीले ‘प्रहरीले सकेन भने श्यामसुन्दर गुप्तालाई जिम्मा दियो भने छिटो पक्राउ पर्ला कि’ भनी व्यंग्य गरेका थिए ।

यस्तै, सभासद् राजकुमार नाल्वोले अमेरिका पठाउने भनी विभिन्न व्यक्तिलाई मोटो रकमसहित गुप्ताकोमा पठाएका थिए । आरजु भन्ने विष्णु लक्सममार्फत पैसा लिएका गुप्ताले अमेरिकाको क्यालिफोर्निया राज्यमा आफ्नो ‘पार्टीको सेमिनार हुँदै छ, पार्टीको कार्यकर्ता तथा स्वकीय सचिव बनाएर पठाइदिन्छु’ भन्दै पासाङ लामा, महेश राना, नारद राई, नन्दु राईसँग ८० लाख रुपैयाँ बुझेका थिए ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment